सशस्त्र प्रहरीलाई प्रविधिमैत्री र चलायमान बनाइने: गृहमन्त्री लेखक
काठमाडाैं | कात्तिक १३, २०८१
काठमाडौं: गृहमन्त्री रमेश लेखकले युग सुहाउँदो तालिम र प्रविधिसहितको परिचालनले मात्र अबका सुरक्षा चुनौती सामना गर्न सकिने बताउनुभएको छ ।
राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा आज आयोजित सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिम दीक्षान्त समारोहमा उहाँले सशस्त्र प्रहरीलाई प्रविधिमैत्री र चलायमान बनाउन मन्त्रालयले काम गरिरहेको बताउनुभयो ।
गृहमन्त्री लेखकले भन्नुभयो, “७७ वटै जिल्लामा परिचालित सशस्त्र प्रहरीलाई थप जनशक्ति व्यवस्थापनका साथै भौतिक पूर्वाधार, युग सुहाउँदो बन्दोबस्ती सामग्रीले सुसज्जित गर्दै लैजान गृहमन्त्रालय प्रयासरत छ । ”
नीतिगत व्यवस्था र कार्यान्वयनको तहमा गर्नुपर्ने आवश्यक सम्पूर्ण सहयोग गर्न मन्त्रालयबाट तयार रहेको उहाँले उल्लेख गर्नुभयो । उहाँले राज्यले सुम्पिएका जिम्मेवारीलाई विषम परिपस्थितिमा समेत सशस्त्र प्रहरीले व्यावसायिक दक्षता प्रदर्शन गर्दै आएको बताउनुभयो ।
मौजुदा स्रोतसाधनको प्रयोग गरी नतिजा हासिल गर्नेतर्फ विगत र वर्तमान जस्तै क्रियाशील रहिरहन सशस्त्र प्रहरीलाई गृहमन्त्री लेखकले निर्देशन दिनुभयो ।
“सुरक्षा निकायका हरेक सदस्यले संविधान र प्रचलित ऐन–नियमको परिधिभित्र रही मानवअधिकारको संरक्षण र परिपालनामा कर्तव्यनिष्ठ भई कार्य गरेमा लोकतान्त्रिक संस्कार र विधिको शासन स्थापित हुँदै जान्छ”, उहाँले भन्नुभयो, “विधिको शासन र कानुनी राज्यको मूल मर्मलाई आत्मसात् गर्दै कानुन पालना गर्नेरगराउने निकायले चनाखो एवम् होसियार रहेर आफ्ना काम कारबाही सञ्चालन गर्नुरगराउनु अहिलेको आवश्यकता हो ।”
प्रशिक्षणलाई समयानुकूल आधुनिक र वैज्ञानिक बनाई राज्यलाई दक्ष अधिकृत निर्माणमा सङ्गठनले खेलेको भूमिकाको प्रशंसा गर्दै मन्त्री लेखकले सशस्त्र प्रहरी एउटा निश्चित, स्पष्ट, वैज्ञानिक किसिमले सबैको हित हुने ढङ्गले अगाडि बढ्ने व्यवस्था गरिने बताउनुभयो ।
सशस्त्र प्रहरीको नयाँ ऐनले सशस्त्र प्रहरीको सेवालाई विशिष्टीकृत गर्दै लैजाने बताउँदै उहाँले त्यो विधेयक आगामी सङ्घीय संसद् अधिवेशनमा पेस गरिने बताउनुभयो ।
“सशस्त्र प्रहरी बलको मौजुदा कानुनलाई परिवर्तन गरेर नयाँ कानुन निर्माणमा अगाडि बढेको छौँ । यसले बललाई थप सक्षम, सबल र व्यवसायिक बनाउने विश्वास लिइएको छ”, उहाँले भन्नुभयो ।
गृहमन्त्री लेखकले नयाँ कानुनका सम्बन्धमा परामर्शको काम अन्तिम चरणमा रहेकाले आगामी सङ्घीय संसद्को अधिवेशनमा पेस गरेर कानुन निर्माण गरिने जानकारी दिनुभयो । सशस्त्र प्रहरीले खेलकुदको क्षेत्रमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको उहाँले बताउनुभयो ।
“सशस्त्र प्रहरीका खेलाडीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा राम्रो प्रदर्शन गरेको हुँदा सरकारले खेलाडीका लागि विशेष पद सिर्जना गरी नियुक्त गर्न सक्नेगरी नीति बनाउन लागेका छौँ”, उहाँले भन्नुभयो ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बिच ‘बृहत् एकता’ गर्ने सहमति भएको छ । रास्वपा सभापति लामिछाने र काठमाड...
लमजुङ: बेंसीशहरमा शनिबारदेखि सुरु भएको ३३ औँ संस्करणको त्रिवेणी कप फुटबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरी बल (एपीएफ) फुटबल क्लबले विजयी सुरुवात गरेको छ । बेंसीशहर नग...
लेखनाथ: पुस ३ गतेदेखि कास्कीको लेखनाथमा सञ्चालन भइरहेको २१ औँ संस्करणको लेखनाथ महोत्सव मनोरञ्जनसँगै आत्मीय भेटघाटको महत्वपूर्ण केन्द्र बन्दै गएको छ । देशका विभिन्न जिल्लाबाट दर्शकहरू महोत्सव अ...

